Thursday, January 31, 2019

ताङ्का

तिमीले माया मलमल हो भन्थ्यौ, घोच्यो, मुटुमा !
उज्यालो खोज्छु बरु स्वयं जलेर विन्ती छ मेरो नपठाऊ ति याद अंगाल्न हर-रात !

Tuesday, February 7, 2017

कविता

ढुङ्गा देवीको पीडा सताब्दीयौं सताब्दी देखि 'तिम्रो' प्रधानताले जकडिएको म आजै तिम्रो उदारता खोज्नु यो समाजमा 'म पागल हुनु'को एउटा बलियो कारक तत्व हो म विवेक नभएकी 'आईमाई' तिमी सतगुणले भरिएको 'श्रीमान' तिम्रो मेरो बीचको नाता हो यसरी कहालईन्छ - यो समाजमा 'हजूरिया मानसिकता' 'हजूर'को दृष्टि नबद्लिनुमा हजूर 'परेमेश्वर'को के दोष ??? दोष छ भने 'नारी'को छ नारी देवी जस्ती हुनुपर्छ विल्कुल मन्दिरमा ढुंगालाई खडा गरेर राखिएकी 'देवी जस्ती' हुनु पर्छ चाहे त्यसलाई कुनै वली दिएर रगत चढाउन् भक्तहरूले चाहे उनलाई विशुद्ध मन भएकाहरूले केवल सुन्दर फूल मात्रै चढाउँन् तर ति सवै कुनै न कुनै आफ्नो उदेश्य लिइ आएर चढाउन्, गच्छे अनुसारको कुरा तर ठ्याक्कै त्यस्तै 'ढुंगा' तर 'देवी' बनेर लोग्नेको घर सजाई रहनु पर्छ इप्साको पूजारीले त चाह्यो भने अर्कै देवी चिटिक्क परेको फेरि खडा गर्न सक्छ त्यसमा देवीले कुनै इख दोख गर्नु हुदैन हुँदै हुँदैन 'तिमी' पूजारी अन्सारकी देवी भएर बस्नु पर्छ बाच्नु पर्छ अनेकन फूलपत्र र बलि दिइएका रगतको रछानमा,

Saturday, November 21, 2015

कविता -

 - ऐतिहासिक कित्ता माग -

विस्तार गर्दै मेरो नाम
किन उमारीदैछन् ? अदृश्य युद्धहरू
म चाहन्छु बरू,
नाङ्गो आँखाले देखिने युद्ध नै सही
तर घातक प्रेम-पृष्ठ चाहिएको हैन
...
उतिबेलै देखि
पहाडलाई पुजेर, नदीलाई ढोगेर
मान्छेको आयु माग्ने 'मान्छे' म
जंगललाई जल चढाएर
जगतकै सुस्वाथ्यको कामना गर्ने म
शहरबाट गाउँ पसेको राक्षसले
मेरै कोखामा दारा गाड्दा खेरी
त्यो घाउमा वनमाराको झोल
माडेर लाउन किन पाउदिन,,???
....
कसले किन फाँड्दै छ?
हरेक पटक वनमारा बुद्धिमाथि
र हरेक संविधानको विधानले मलाई
छेउकटुवा जग्गा चर्च्याउन बाध्य बनाउदैछ
नेप्टो नाकमाथिको थेप्चो निधारभित्र
काउलोको लिसो बनाएर
कल्ले बाँ'काटे हानी रहेछ  ?
र हरेक पटक म चिप्ली लड्छु - अपूरो संख्यामा
हाम्रो वायुघर,साकेला थान र गुरौमा
कसले भजन गाउन थालेको छ, अचेल
र नाची रहेछन्, अट्टाहास हाँस्दै
साशाकीय नृत्यकारहरू
..
अस्तित्वको राँके मेलामा
फौदारी गर्नु पटक्कै रहर छैन, मलाई
तर यत्ति मात्रै भन्छु -
आबो, उइलेको जस्तो डबकामा छनुवा पिउँदै
सुनी रहदैनन् - कारबारी जेठाहरूले
कागको फुल चोर्ने कोइलीको कथा,
डिट्ठा बा'को प्याउले लोरी
र अधिया बुद्धिको धापले
सुती रहँदैनन् - माङ्धने कान्छाहरू
..
इतिहास साक्षी छ |
संस्कृतिमाथि ठाडो हस्तक्षेप हुँदा नि
सहिष्णुता ओढेर सिरूपाते खुकुरी सुतेको हो
तर निदाएको छ |
जाई लाग्न नजनान्ने सोझोले
अब आई लाग्ने बाङ्गोलाई बाँकी राख्दैन |

Tuesday, September 24, 2013

मुक्तक

जिउने आधार एउटै मुटु, आधा लुटी छाड्यौ मलाई
खुराफाती तिम्रै मन'थ्यो,आखिर धोका बाँड्यौ मलाई
बाँच्छु भन्थे दुई चार दिन तितो यादसंग पनि
जिउँदो लाश बनाएर माटोभित्रै गााड्यौ मलाई 

भो अब म, प्रेमको कविता लेख्दिन

मनु लोहोरुङ राई


भो अब म,
प्रेमको कविता लेख्दिन
आफूसंगै हिड्ने छायाँ हेर्दा हेर्दै विलाए जस्तै
भूमि छोडेर क्षितिज काटी उड्ने वायुयान जस्तै
मिठो प्रेमराग मेरो हृदय नाघेर पअअर-पर पुगेछ |

गजलमा लय किन चाहिन्छ ?

Bipul Sijapti

१. गजल कसिदाबाट विकसित भएको एक अन्तरराष्ट्र्यि साहित्यिक विधा हो र यसलाई पढ्ने भन्दा पनि समूहमा सुनाईने गरिन्छ ।

२. बाजाहरु २ प्रकारका छन्, ताल बाजा :- ढोलक मादल, तबला, मृदंग इत्यादि र सुर बाजा :- हारमोनियम, सितार बाँसुरी आदि । अरबी मुलुकमा तालबाजा र सुर बाजाको अत्यधिक कमीको कारणले गर्दा पनि अरबी मुलुकमा जन्मिएको गजल सुरुमा गाईदैन थियो र यसको पहिचान र अस्तित्व भनेको नै समूहमा बसेर सुनाउनुमा थियो ।

३. ताल बाजा र सुर बाजाको अभावमा यसलाई प्रभावकारी बनाउनको लागि लय अत्यावश्यक हुन गयो र विभिन्न लयमा भनिन थालियो । कालान्तरमा यही लयलाई सहज बनाउन वहर र छन्दको निर्माण भए जसले लय श्रृजना हुने एक सूत्र दियो ।

४. प्रभावकारिताको लागि र सेरमा प्रयुक्त विशेष शब्दबाट हृदयमा असर उत्पन गर्नको लागि शब्दमा स्वराघात, बलाघात र यति या बिश्राम मिलाएर लयबद्ध रूपमा सुनाइन थालियो ।

५. बहर र छन्दको निर्माण पश्चात् पनि लयका कुरा नउठेका होइनन्, त्यसको समाधानार्थ तरन्नुमको अबधारण अघि ल्याईयो र गजलगोलाई उसले आफैले निर्माण गरेको तरन्नुम (लय) मा गजल भन्ने छुट दिईयो । यस्ता तरन्नुमलाई बहरबद्ध या छन्दबद्ध गर्ने कार्य र सिलसिला अद्यापी हुँदैछ र आदरणीय पोष्टराज सर नेपालमा उदाहरणीय व्यक्ति हुनुहुन्छ ।

६. मुगलकालमा मुसायरा (गजल वाचन कार्यक्रम) बहादुर शाह जफरको पालामा आएर झन मौलाएको थियो । बहादुर शाह जफर आफै पनि गजलका सौकिन र सायर थिए र उनले समय समयमा मुसायर चलाऊदथे । उनको दरबारमा हुने मुसायरा साँझको नमाज पछि सुरु भएर बिहानको आजान (बिहानको नमाज पढने सङकेत, घोषणा) सुने पछि सकिन्थ्यो । यस्ता मुसायरामा सायरले सेरका पहिलो हरफ आफ्नै तरन्नुम (लय) मा या बहरमा चार पाँच पटक दोहर्याऊदा पनि श्रोता उत्सुक भएर सुन्न बस्दथे र तिनीहरूको जिज्ञासा जब मतलाए सानी ले शान्त पार्दथ्यो तब वाह ! वाह ! र सुभान अल्लाह ! सुभान अल्लाह ! भनेर सायरको तारिफ गरेर फेरि अर्को सेर सुन्न तल्लिन हुन्थे । यसरी श्रोतालाई मन्त्रमुग्ध पार्ने काममा लयले नै सघाउँछ ।

७. गजलको सुरुवाती अवस्था देखि गजलसँग टाँसिएर आएको लयलाई आधुनिकताको नाममा हटाईदिएको खण्डमा गजल कुरुप बन्न जान्छ र यसले बिस्तारै आफ्नो पहिचान मास्न जान्छ । केही निश्चित कुराहरुका आधारमा नै गजललाई गजल भन्न सकिन्छ र लय ती मध्ये एक हो ।

८. गजलको आधारभूत तत्वको आधारमा हेर्ने हो भने पनि लय पर्दछ ।

९. लय बिनाका कुनै पनि गजल रचनालाई अन्तरराष्ट्र्यि रूपमा दाँज्दा लज्जित हुनुपर्ने बाहेक अरू केही विकल्प छैन । गजल लेखिने देशहरू भरत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान इरान आदिका गजलहरुमा पनि लयलाई अटुट मानिन्छ । उनीहरूको अगाडी लय बिनाको गजललाई के नेपाली आधुनिक गजल भनेर देखाउन सकिन्छ ?

१०. प्रमुख कुरा भनेको गजलका सेर सुनाउँदा त्यसको गहिरो असर पार्नेको लागि अत्यावश्यक र कारक तत्व लय नै हो । सायरले आफ्नो स्वरलाई त्यही अनुरूप ढालेर लयमा असर पैदा गर्दछन् । एउटा सेर पढदा जति असर हुन्छ त्यसको सयौँ गुना असर सेरको भाव अनुसार आवाजको सहायताले आरोह अवरोह, शब्दमा उचित स्वराघात र बलाघात पार्दै लयमा वाचन गर्दा हुन्छ ।

११. मेरो ब्रम्हले देखेको सत्य के हो भने गजलमा लय आवश्यक छ । गजलको जन्म देखि नै आबद्ध रहँदै आएको लयलाई गजलबाट अलग गर्ने अधिकार हामीलाई छैन ।

Tuesday, September 17, 2013

मुक्तक

मेरो मनमा आगो बालेर कहाँ पुग्यो बैगुनी ?
छातीको घाउमा नुन हालेर कहाँ पुग्यो बैगुनी ?
जसो तसो जोगाएर राखेकै'थें सिङ्गै मुटु
टुक्रा,टुक्रा बनाइ फालेर कहाँ पुग्यो बैगुनी ?

Thursday, April 4, 2013

पुस्ता देखि पुस्ता सम्म

'मेरो च्याब्जुले फाँडेको खोरिया'लाई
च्याब्जुकै छिमेकीले खेत बिराए पछि
मेरो बाजेको अस्तित्व छेउ लागेको हो

जब बाजेको अस्तित्व
छेउकटुवा भएर बाँच्दै थियो,
'जिन्दगी'हरु बर्मा भएर बाँचे/ बर्मा भएर मरे |
जब बाजेको हाडखोर बर्माको जंगलमा
रबरको रुख भएर उम्रिए पछि
बाउको बाँच्ने शैलीमा परिवर्तन भयो |

कति बाउ मलाय-हंगकंग त
कति भारत भएर बाँचे-
समयले चाकाचुली खेल्दै गए पछि
फेरि बाउहरु यु.के. र ब्रुनाई बाँच्न थाले |
एता छिमेकीले बिरौटो खेतलाई
जीवनकै आवादी बनाए |

Wednesday, May 9, 2012

मुक्तक

पुरानो सबै छोपेर आऊ नयाँ बर्ष
आँशु र पीडा रोकेर आऊ नयाँ बर्ष
उमंगसंगै यहाँ मानवता भएको मुटु
सत्य र संवेग बोकेर आऊ नयाँ बर्ष

 
११/०४/२०१२
न्युयोर्क 

Monday, March 12, 2012

आफ्नो छायाँ भन्दा नजिक......


आफ्नो छायाँ भन्दा नजिक,भै'छौ तिमी साथी
तिमीलाई चोटलाग्दा, दुख्छ मेरो छाती


थाहै नपाई तिमीभित्र आफैलाई हराएछु
सपनीमा तिम्लाई देख्दा बिपनीमै कराएछु
थाहा पाएँ मुटुले नि, खोज्यो क्यारे साथी
तिमीलाई चोट लाग्दा दुख्छ मेरो छाती


आजभोली झल्मलाउछौ आँखा वरीपरी
मेरो मनमा उदाउछौ,जून जस्तै घरी-घरी
दु:ख बाँड्ने साथ खोज्दा,तिम्लाई रोजें साथी
तिमीलाई चोट लाग्दा दुख्छ मेरो छाती

Friday, February 17, 2012

मनु लोहोरुंगकृत एक गीतमा छोटो काब्य गवेषण

-------------------------------------खगेन्द्र पन्धाक लिम्बू

आज मनु लोहोरुंगकृत एक गीतमा सानो केरकार गर्ने ध्येय रह्यो l नोष्टाल्जिक पृष्ठभूमिमा निर्मित र सिर्जित गीतमा यसरि प्रबेस गरें !-
सागरको पानी देख्दा, घर-छेउको खोली सम्झें !!
घरि घरि छल्को उठ्दा, उनकै मिठो बोली सम्झें !!
सालाखाला बाह्य इन्द्रियले अनुभूत गरेर मात्र यस्तो तेस्रो-चौथो पत्रभित्रको सुसुप्त र गौण भावनाको आभाष प्राप्त हुनै सक्दैन l


ढुक-ढुकीमा खोजी रहेँ, सम्झनाको तरेलीमा l
मलाई भेट्न झरिन उनी, आँखाबाट परेलीमा l
मुहारको भीरै-भीर, उनीसंगै म नि झरें l
उर्ली झर्दा भावसंग, आँशु-तालमा एक्लै परें l

समुद्रको पानी र छालसंग जन्मघरको खोली देख्नु,आफ्नो र आफन्तको बोली भेट्नु,स्पन्दनको चापभित्र छाम्दा परेलीको डीलनेर अश्रुको रुपमा भेटिनु, निरस र एक्लिएको मुहारलाई भीर जस्तो कहाली लाग्दो देख्नु,आँसुको तालमा हजार तरंग उठे पनि आफुलाई एक्लो महसुस गर्नु,आदि जस्ता बिध्यमान एक्लो र निर्जनताको चपेटाले स्थायी र अन्तरासम्म पिडा र नियlस्रोले गीतको पात्रलाई गांज्नु-गांजेकोछ l
साहसले पौडिएर, निस्कें फेरि किनारामा l
सोचें ! यस्तै होला सबै, हाँसो खुसी संसारमा l
तरंग ति सल्बलाउँदा, सकम्बरी रुप सम्झें l
तृष्णाले यो आँत सुक्दा, सदियौंकै कूप सम्झें
समस्याको उठान तड्पिएर शुरुवात गरी दोस्रो अन्तरामा पुगेर स्वसाहस र स्वधापले जीवनलाई उकास्न भरपुर कोशिस गरिएकोछ lमुक्तिको बाटो फेला पारिएकोछ l
गीत एउटा संघर्षमयी जीवन जस्तो दुरुस्त-तन्दुरुस्त भै बांचेकोछ l गीतको मोटामोटी भाव एति नै l

कला एस्तो होस् कि एति सानो साहित्यको शरीरमा पनि पुरा सागर अटोस, खोली अटोस, बोली अटोस, पोखरी, पहाड,भीर,तरेली,झरी,घाम-वर्षा,जीवन,जगत सबै अटोस, संसार अटोस !
साहित्यमा विम्ब र प्रतिकसंग गहिरो सम्बन्ध नगांसी,छैटौं इन्द्रियले अनुभूत गरेर नबोली र कल्पनl र भावनाको आयामिक यानमा नचढी लर्तरो यस्तो काव्यमय रचना तयार हुँदैन l

अब, गीतको आफ्नै गेयात्मक पक्ष छन् -यति, गति, भाव, अनुप्रास, यमक,गमक, मात्रा, भाषा र भाव प्रबाह इत्यादी lयी पनि गीतभित्र सबल रुपमा देखा पर्नुले गीतको ओजस्वी,उचाई र ब्यापकता अबर्णनीय छ lयो माथिको मनुजीको गीतको कुनै समालोचन र प्रतिक्रिया होइन lमैले यो गीतभित्रको भावभंगालोमा डुब्दा भेटेका मेरो पाठकीय अनुभूति मात्र हुन् l
एउटा असल सर्जकले सधैं यहि उचाईमा सिर्जना गर्न सक्छ कि सक्तैन ?भन्ने खुल्दुली अझै बाँकी नै छ l

गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु l

____________________खगेन्द्र पन्धाक लिम्बू


[ पर्सियामा एकजना अन्धाले लयात्मक विधाको कविताको सुरुवात गरेर गाउन थालेको ईतिहाँसलाई गजलको प्रमुख उत्पत्ति मानिए पनि अर्को तर्फ अरबियन युगको प्रचलित लयात्मक कवितालाई पर्सियामा गीत-संगीतको रुपमा बिकाश गरी गायनयोग्य रुपमा अन्य अरबियन देश, भारत तथा बिस्वभर ब्यापक गरिएको मान्यता पनि छ lगजलको ईतिहाँस लामो छ lधेरै धारणा र अव-धारणाहरु छन् lत्यो यहाँ समाबेश गरेको छैन l]


१.
बहर(मिटर)= सेरको लयात्मकता(छन्द)l जसले मिश्र(हरफ)हरुसंग तुलनात्मक सम्बन्ध राख्छ lस्वर-वर्णको मात्रा,यमक र लम्बाई वा पदको संरचनाको आयतन जसको आधारमा मत्लाको सिर्जना हुन्छ र मिटर(मात्रा) अनुप्रास(काफिया) र रदीफको सन्तुलनमा बाँकी मिसरा र सेरहरू निर्माण हुन्छन l
गजलका प्रत्येक मिसराका सेरहरुले बहरसंग सन्तुलनमा रहनु पर्दछ l जस्तै:
आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l

२.
रदीफ = शब्द वा शब्दहरु l जो गजलका अन्तिमका २ हरफमा छन्दमा टुंगीन्छंन र प्रत्येक मिसराको सेरमा दोहोरिन्छ्न l रदीफ बिनाको गजल पनि देखिएका छन् l त्यस्ता गजललाई 'गैर-मुरद्दफ' भनिन्छ l
रदीफ र काफिया भएका जस्तै: कोष्ठमा हेर्नुस-
आफ्नै जीवन बालेर राप ताप्दैछु (अचेल) l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु (अचेल) l

दोहोरो रदीफको पनि अचेल प्रयोग देखिन्छ l जो मिसराको जुन ठाउँमा पनि आउन सक्छ l

३.
काफिया =रदीफ अगाडी प्रयोग हुने शब्द वा शब्दहरु जसको सन्तुलित ध्वनि हुन्छ र यसले गजलको वजन दिन्छ l
जस्तै: कोष्ठमा हेर्नुस -

आफ्नै जीवन बालेर राप (ताप्दैछु) अचेल l
आफ्नै जीवन ढालेर आयु (नाप्दैछु) अचेल l

दोहोरो काफियाको पनि अचेल प्रयोग देखिन्छ lजो मिसराको जुन ठाउँमा पनि आउन सक्छ l
स्वर-वर्णको आधारमा पूर्ण नमिलेको काफियालाई आंसिक काफिया भनिन्छ र एक अक्षरको स्वर-वर्ण मात्र मिलेको काफियालाई कान्छो वा एकाक्षरी काफिया भनिन्छ l यस्तो खालको काफीया भएका गजलहरु देखिए पनि राम्रो र संगीतमा श्रुतिमाधुर्य मानिंदैनन l
४.
मत्ला= गजलको प्रथम २ सेर वा मिसरा(हरफ वा पद )हरु l जहाँ रदीफको प्रयोग गरिन्छ l यो गजलको महत्व-पूर्ण अङ्ग हो l किन भने यहाँ प्रयोग भएका रदीफ र काफियामा पूरै गजल निर्भर हुनु पर्दछ l
जस्तै:कोष्ठमा हेर्नुस -

(आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l )


चुह्यो ईमान रहेन नाता वस्तीमा ओवानो
आफ्नै जीवन गालेर छानो छाप्दैछु अचेल l


फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l


शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l

५.
मक्ता =गजलको अन्तिम सेर l जहाँ सर्जकको महत्वपूर्ण छाप र भाव गजलमा छोडिनु पर्दछ l यहाँ गजल सर्जकको छोटो नाम 'तख्हल्लुस' लेखेर छोडिन्छ l त्यसो नगरी पनि हुन्छ l जस्तै: हेर्नुस कोष्ठमा 'तख्हल्लुस'-

शैय्या टेकेर हाँसेको( 'चुम' )मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l

६.
सेरको प्रथम मिसरालाई 'मिसरा ए उल्ला' भनिन्छ l
सेरको दोश्रो मिसरालाई'मिसरा ए सानी'भनिन्छ l


यो गजलको साधारण नियम मात्र हुन् l यति जानियो भने चल्ती आधुनिक गजलमा सिद्ध हस्त हुन सकिन्छ l गजलका बारेमा धेरै अवधारणाहरु छन् र धेरै व्यापक नीतिनियम पनि l तर अहिले यति जाने काफी होला भन्ने सोचेको छु l


लयका नियम:-
आफ्नै/ जीवन/बालेर\\ राप /ताप्दैछु/ अचेल /l =२/+३/+३\\२/+३/+३\=१६
आफ्नै/जीवन/ढालेर\\आयु /नाप्दैछु /अचेल l =२/+३/+३\\२/+३/+३\=१६ यसरी प्रत्येक यति र गति बीच शब्दको बराबर मात्रा(मिटर) मिल्नु पर्दछ l


चुह्यो/ ईमान/रहेन\\ नाता/वस्तीमा/ओवानो\ =२/+३/+३\\२/+३/+३\=१६
आफ्नै/जीवन/गालेर\\छानो/छाप्दैछु/अचेल \l =२/+३/+३\\२/+३/+३\=१६ हेर्नुस- प्रत्येक मिसरामा समानता छ l

फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l


शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l


पूर्ण शब्द यति र गतिको कारणले टुक्रिए वा विभत्स भएमा भाषा र लय स्वयं भंग हुन्छ l
जस्तो:
सपनीमा आउनू =सपनी/मा आउनू/ यहाँ -सपनी/मा टुक्रिए पनि /सपनी/ को अर्थ छ र पूर्ण छ l
तर-
/मा आउनू/ ले अशुद्धि र भाषागत भ्रसं उब्जाएकोले स्वत: गल्ति र लय भंग हुन्छ यस्तो अवस्थामा l


मैले सुत्रगत नगरेको माथिको २ वटा सेरलाई पनि मैले गरेको सूत्रको आधारमा अब आफैं सुत्रगत गरेर हेर्नुस र यसरी नै सिर्जना गर्ने कोशिस गर्नुस l


__________________________________________________




.........ताप्दैछु अचेल


आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l

चुह्यो ईमान, रहेन नाता, वस्तीमा ओवानो
आफ्नै जीवन गालेर छानो छाप्दैछु अचेल l

फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l

शैय्या टेकेर हाँसेको जात, मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l




..................................................................................................................

Thursday, February 16, 2012

~ मुक्तक ~

कहाँ कसको लागिन र ?पाउ जिन्दगीमा
आफ्नो कहीं तैरिएन नाउ जिन्दगीमा
उमेरको हिसाब चुक्ता, हुनै लागिसक्यो
ऐले सम्म पर्या हैन, एकै दाउ जिन्दगीमा


Thursday, February 9, 2012

कविता - सोल्टीलाई प्रेमिलो सम्बोधन

सोल्टी !
यो मनको खोपीमा
कुन सम्साँझ देखि आरती जगायौ ?
थाहै भएन |
खै कुन बिहान देखि हो ?
प्रेमिलो सूर्य उदाएछौ
मेरै हृदयको श्रीअन्तु डाँडामा-
रातो गुलाफ बोकेर
अनुरागका चिमल थुंगाहरु
यै सिक्रे रुखको थाप्लोमा देख्दा पो
म त्यसै त्यसै दुबोको शित----हाँसेछु |
मुसुक्क ओठ टोक्दै - माछापुछ्रे शिर
र डुबेछु, तिम्रै रारा-फेवामा !!!

अचेल, 
देब्रे छातीको भन्ज्याङ्नेर
ढुकढुकीसंगै मन्गाउँका ङोलो र ङोल्स्योहरू
सालैजो भाकामा जुहारी खेल्छन् |
~~~~भावीले लेखेको निधारको रेखी
~~~~सालैजो को देख्न सक्छ र ?
~~~~आँखाले देख्यो, मनले रोज्यो
~~~~सालैजो को छेक्न सक्छ ?
रुप्से झरना जस्तो तिम्रो प्रेमले 
त्यै रोदीघरनेर आँखा खोल्दा त
आफ्नै छाती पो शिलापत्थर जस्तो लाग्छ, 
र , मेरो आयु नाईल नदी देख्छु |
 
 
माघको महिना
माईधारमा माईमेला घुम्दा
आँखाले आँखालाई तानेर धान नाचेको-
त्यै बेला निलो आकाश मुनि 
चुर्लुम्म दुई आत्माहरु मक्कर नुहाउदै
धेरै बेर मिस्सिसिप र मिसौरी बगी रहे-
हृदयका शिपीहरु रमाउदै सिली नाचे
सोइ-ढोले सोइ...सोई ढोले सोई -


कस्सम होला, सोल्टी !
यो सहरको कोलाहलमा पनि
तिम्रो मायाको सुगन्ध-
कोठेबारीमा फुलेको भूँइ चम्पा हो कि 
आँगनको डिलमा रोपेको तितेपाती-
मग-मग आफ्नै निस्वास भरी भरी - 
म एक यायावर - पानी भएर बगें 
र मिसिएँ - आन्ध्रा महासागरमा..
तिम्रो प्रेमले लुछुप्पै भिजेको म,
यति बेला यो महासागरबीच पनि
मेरै 'कोशी-कर्णाली' बेस्सरी तिर्खाएको छु |
म 'मेची-महाकाली'बेस्सरी तिर्खाएको छु ।
 
 
सोल्टी !
गुराँसे डाँडामा तिमी जिस्किंदै
गुराँसकै थुंगाले हानेको यादले हो कि
कटुन्जे फलैचामा साटेका
मायालु धुनहरुले हो, कोट्याई रहन्छ |
बिहान सबेरै घामले कंचनजंघा चुमे झैं
मैले पनि पो उही कल्पिँदो रहेछु |

आकाश छेड्न उभिएका
यी बग्रेल्ती घर मुनि 
शिलाजुभिर पारी सल्लेरी वनमा
हलेसो बासे झैं
म भित्रका सैंहिली,माहिलीहरु पनि पालाम गाउँछन्
यसरी,
~~~~~~लहरा भूँइमा फूल रुखमा
~~~~~~बसेछ माया भूलचुकमा 
~~~~~~माईखोला बग्यो माईधारमा
~~~~~~मायै हो ठूलो संसारमा 


त्यसैले,
त्यसैले सोल्टी !
तिमीलाई भेट्नु नै 
मैले प्रेमको रंङ् देख्नू हो-
जीवनको रङ् भेट्नु हो -
संसार जित्नु हो-
हो,त्यसैले
अझै हाम्रो प्रेमको समागम सगर छुन
केचना मन देखि उँभो सोचको चोमोलोंङ्मातिर 
उक्लिरहेछु - म उक्लिरहेको छु |
उक्लिरहेछु - म उक्लिरहेको छु |

Monday, January 23, 2012

~ इज्जतको रिहाई ~


आमा !
म आज तिमीसंग 
एउटा कुरा मन खोलेर भन्छु 
कि इज्जतको रिहाई माँग्छु |

तिम्रो छाती चिथोर्ने
तिम्रै छोराहरुसंग
म घोर विरोध जनाउँछु |
धेरै संघर्ष गर्दै आएँ
र फेरि गरिरहन्छु |

तिमीसंग क्षमा माग्छु |
आमा !
पीडा = छोरा या छोरी जन्माउनु -  
तिमीले नै जन्माएका सन्तान हुन् 
तिम्रै मुटुको आधा अंश-
हिन्दू संस्कारले दिएको
तिम्रै सिउँदोको सिन्दूर-सौभाग्य(लोग्ने)
हो,
तिनै विविधताको पुरुष नामबाट
कहीं मेरो स्त्रीत्व लुटिएको छ |
कहीं यौवनमा र्याल चुहेको छ |
कहीं अवोधता मिचिएको छ |
म अवला हुनुले
उनीहरुको पन्जाबाटै जबर्जस्त
मेरो अश्मितामाथि रजाईं गरिएको छ |
आमा !
मलाई माफ गर !

मेरो 'आवाज'रहर होइन |
बाध्यता हो, उसको लागि
जसले,
मलाई वादी आईमाई कहलाईरहेको छ-
उसको लागि हो, जसले
सडक पेटीमा सडकछाप लगाउन बाध्य बनायो-
उसको लागि हो, जसले
मनावता निलेर नाबालकमाथि उत्तेजना खन्यायो-
उसको लागि हो, जसले
धर्मको नाममा  बेईज्जता लुकाउन लगायो- 

तिनकै निमित्त आज 
म "तसलिमा नसरिन"
"आईमाईको हकमा" बोल्छु |
"बिग्रेकी केटी"को उपनामबाट
युग देखि युग मुक्त गराउनु छ | 


मनु लोहोरुङ
सितलपाटी - ६, संखुवासभा
हाल :- न्युयोर्क  



नोट :- अतिवादी सामाजिक विचिन्तनको खण्डनलाई कव्ययिक प्रयोगमा ल्याउँदा यो कविता यस्तो बन्यो | कठोर भाषिकताको हकमा सबै सज्जन पुरुष-महिला प्रति क्षमाप्रार्थी छु |  

Friday, January 20, 2012

धड्कनलाई बचाई राख्ने मेरा दुई हात....

धड्कनलाई बचाई राख्ने मेरा दुई हात
पौरख र पाखुरी नै मेरो जीवन साथ

कहाँ हो र मेरो पनि,ढुङ्गो कुट्ने रहर
मलाई पनि मन्त थियो, घुम्नलाई सहर
रहर भन्दा भोक ठुलो भयो जिन्दगीमा
जोबन सबै लुटी गयो पेटकै बन्दकीमा

नदीले झैं किनारलाई छोडे जस्तो पनि
सकिएन छोड्न गाउँ,परदेश लाग्छु भनि
ढुंगा-माटोसंगै खेल्ने बानी परे हात
पौरख र पाखुरी नै मेरो जीवन साथ


Thursday, January 5, 2012

हाईकू


गोधूलि पर्दा
आकृति तिम्रै हो
साँझमा देखें |

उर्लेको मन
पराईकै आँगन
भो मधुवन !

Sunday, January 1, 2012

मुक्तक


  1. नयाँ साल उमंगको,नयाँ बिहानी यो
    आज देखि शुरु होस्,मिठो कहानी यो
    हामी सबै मिली रोपौं गुलाफको बिज
    नमरोस् है अब यहाँ, जानी-जानी यो 


    जनावरी १, २०१२ आईतबार

Wednesday, December 28, 2011

गेडी 

छोडी आएँ मायालु,कस्ती भईन् होला नि
रुँदो हो की मलाई, सम्झी डाँडा-खोला नि
बल्झेर 
दुख्छ छाती एतै अल्झेर

नभेटेको मायाको,झल्को धेरै आ'को छ
कुटु-कुटु कलेजी, दिन रात खा'को छ
को हो नि ?
साँच्चै क्यारे लायो मोहनी 

Sunday, December 25, 2011

गेडी


झिलिमिली बत्तिमा, यो शहर धमिलो
घर गाउँ सम्झेर, मनै हुन्छ अमिलो
कहर
भो नि आफ्नै बाँच्ने रहर