Thursday, April 4, 2013

पुस्ता देखि पुस्ता सम्म

'मेरो च्याब्जुले फाँडेको खोरिया'लाई
च्याब्जुकै छिमेकीले खेत बिराए पछि
मेरो बाजेको अस्तित्व छेउ लागेको हो

जब बाजेको अस्तित्व
छेउकटुवा भएर बाँच्दै थियो,
'जिन्दगी'हरु बर्मा भएर बाँचे/ बर्मा भएर मरे |
जब बाजेको हाडखोर बर्माको जंगलमा
रबरको रुख भएर उम्रिए पछि
बाउको बाँच्ने शैलीमा परिवर्तन भयो |

कति बाउ मलाय-हंगकंग त
कति भारत भएर बाँचे-
समयले चाकाचुली खेल्दै गए पछि
फेरि बाउहरु यु.के. र ब्रुनाई बाँच्न थाले |
एता छिमेकीले बिरौटो खेतलाई
जीवनकै आवादी बनाए |