Saturday, December 10, 2011

~ मुक्तक ~


मर्न लाग्यो कठै मेरो गुराँसको डाली पनि 
बादलले छेकिर'न्छ,पारी-घामको लाली पनि
आशा गरें ! कुहिरो फाट्ला, न्यानो होला आङ्माथी
पोहोर सालको जस्तै शित खस्यो यसपाली पनि  


Sunday, December 4, 2011

गजल

गजलकार ~ तिब्बत दर्लामी 
~ तिब्बत दर्लामी ~
काभ्रे, साल्धारा

कस्तो हुन्छ मारुनीमा कम्मर भाँच्न सिकाईदेउन ।
लौन लाफा मलाई पनि हुर्रा नाँच्न सिकाईदेउन। 

रातैभरी रोधीघरमा सालैजोको भाका टिपी
दोहोरीमा पिरतीको नाता गाँस्न सिकाईदेउन ।

कौडा टप्का घाटु नाच्दै मोहोनीले लठ्याएर
मुटूभित्र आफ्नोपनको माया टाँस्न सिकाईदेउन ।

कतिराम्री सुहाएको तिम्लाई घलेक गुन्यु चोली
मलाई भाँग्रा कछाडमा मीठो हाँस्न सिकाईदेउन ।

न त भाषा न त भेष म त रित्तो रित्तो भएँ
सँस्कृतिमा रमाएर जीवन् बाँच्न सिकाईदेउन।

नोट:
लाफा :–मगर भाषाबाट साथी
मारुनी, हुर्रा :– पूर्वेली मगरहरुले नाच्ने नाच
कौडा, टप्का, घाटु :– पश्चिमेली मगरहरुले नाच्ने नाच
भाँग्रा, कछाड :- मगर पूरुषले लगाउने पहिरन

गजल