Saturday, November 26, 2011

~ गजल ~


घर-चुलो एकै भन्थ्यौ,तर बेग्लै परेको छु।
छुट्टा-भिन्न पारे पनि,अझै तेतै सरेको छु।

सोचेको'थें मेरो लागि,तिमी जून उज्यालो हौ
अध्याँरोमा राती आफ्नै,आँखा बाट झरेको छु।

कैले काँही भन्ने गर्छौ,मेरो आत्म तिम्रो साथी
सधैं भरि भावनाको, भेल एक्लै तरेको छु।

नमागेरै बास दियौ, आशा दियौ प्यास मार्ने
भोकाउँदा आज मनको, झोली आफै भरेको छु।

ढुंगै तिमी बने पनि, सौभाग्यले जुराएको
झुकाउँदै शिर मैले, पाउ पूजा गरेको छु।

~ गजल ~


मन खोली मेरो आँखा हेर काली भन्थ्यौ।
तिमी फूल बगैँचाको म त माली भन्थ्यौ।

मेरो जीवन् सादा पाना के के चित्र कोर्छौ
कोर !म त सजाउने फ्रेम खाली भन्थ्यौ

आफै भयौ पत्रु जस्तो सत्रु सामु आज
तिमीलाई आकार् फेर्छु सुन्मा ढाली भन्थ्यौ

अर्को पाली भेट्नु अघि मरे माटोमुनि
तिम्ले ला'को गुन तिर्छु यसै पाली भन्थ्यौ

आज किन रिस दोष मै माथि नै पोख्छौ
हुनु पर्छ सत्य "मनु"हुन्न जाली भन्थ्यौ

Friday, November 25, 2011

~ गजल ~

माग्दैछ एक अठोट,आफ्नै जगतले आज
भन्दैछ देश बचाऊ, हाम्रै रगतले आज


राष्ट्रको चिन्ह खुकुरी,आफ्नै गर्दनमा हेर !
थामेर राख्न सकेनौं,अन्धो मगजले आज

लिए नि कोही तर्वार ! भए नि अचानो यही
दर्बार ढल्यो छिनैमा,उस्कै हठतले आज


चिहान राख्ने यो माटो, साझा हो हामी सबैको
खसेको खाल्डो पुरेर, उठौँ सजगले आज

Tuesday, November 22, 2011

गजल

आँशु रोकी वेदनाको, घाउ टाल्छु अब !
चेतनाको मूलबाटोमा, पाउ चाल्छु अब !

अन्यायले थिचिएको,पसिनाको न्याय
खोज्नलाई मैले पनि, दाउ फाल्छु अब !

असमान मोल भयो, मान्छे-मान्छे बीच
साफा नाफा बराबरी, भाउ हाल्छु अब !

रुयो वस्ती अध्याँरोमा, हराएर दिन
संघर्षको अगेनामा, नाउ बाल्छु अब !

सहेकै हो थिचोमिचो, पुस्तौं पुस्ता देखि
जरैबाट ज्यादतीको, माउ ढाल्छु अब !

गजल

घामको झुल्का पोखिएर सँघारमा परेको दिन ।
आमाको काख रित्याएर सडकैमा झरेको दिन ।

कहिले छोरा फर्किएर आँटो पिठो ल्याउला भनि,
मनको आँखा तानी आमा मझेरीमा सरेको दिन ।

बिहानदेखि देश खोज्दै, हराएको सन्तान अब,
आउने आशा सकिए'सी आँशु भेल तरेको दिन ।

अध्याँरो यो धर्ती'थ्यो कतै हुरी चलेको रात,
देशले चाहिँ अलिकति आज ज्योती भरेको दिन ।

~ मुक्तक ~

टाल्दैछु यो आधा ज्यान, बर्खा हिउँदै पनि
बाँच्दैछु जीवनमा मनको घाउ सिउँदै पनि

केइ छिन अझै बाँच्छु म,माटोको गीत लेख्न
त्यसैले हाँस्छु साँझ बिहान अनिकाल पिउँदै पनि

~ मुक्तक ~

जन्मिनुको अर्थ बुझे,जीवन मोती हो ,
मन खोली जगत हेरे,जीवन ज्योति हो ,
दुई दिन बाँच्दा रिस दोष किन गर्ने सखी ?
जीवन केवल समयको एकछाक रोटी हो |

~ मुक्तक ~

तिमीले मुख खोल्यो र मैले नि बाँध्न सकिन
रित्तिएकै थियो मन त्यै पनि साँच्न सकिन
तिमी मेरो कोही हैन, साईनो पनि अब छैन
माग्नै पर्ने अधिकार त्यसैले आज माँग्न सकिन

~ मुक्तक ~

दु:ख टेक्दै हिड्दा हिड्दा धेरै कहर भेटें
त्यै टेक्दै माथि जाँदा एउटा सहर भेटें
जिन्दगी र मनको पिडा त्यहाँ पोख्दा मैले
श्रम गरी जिउन पाउँने नयाँ प्रहर भेटें

~ मुक्तक ~

हराए अचेल बिनायो र मचुंङ्गाको तालहरु
मासिए जंगलमा डाँफे र मुनालका चालहरु
डर भो अब यहाँ देशै मासिन्छ कि भन्ने
उर्लिंदो छ झन् एकले अर्कोलाई हान्ने छालहरु

~ मुक्तक ~

तिमीलाई भुल्न पनि सकिन
तिम्रो नजिक डुल्न पनि सकिन
हाँगै भाँच्यौ कि जरा मार्यौ कुन्नि ?
कहीं फक्रेर म फुल्न पनि सकिन

तिम्रो याद आउने बाटो.......

तिम्रो याद आउने बाटो छेकी दिउँ कि अब
कोरिएका बिगतहरु मेटी दिउँ कि अब ।

भेटिएर व्यर्थै रोग बल्झ्यो जिन्दगीमा
सिङ्गो मुटु टुक्रिएर अल्झ्यो बन्दकीमा
उकासेर लिलामीमा बेची दिउँ कि अब

कोरिएका बिगतहरु मेटी दिउँ कि अब

छुट्टीनु नै रैछ आखिर दुई किनार जस्तो
तेसैले नै आस्था भयो मक्किएको बार जस्तो
ढलेका ति सपनासबै टेकी दिउँ कि अब
छलेका यी विपनासबै लेखी दिउँ कि अब

तिम्रो याद आउने बाटो छेकी दिउँ कि अब
कोरिएका बिगतहरु मेटी दिउँ कि अब ।

~रैकरी देखि रैथाने सम्म~

बन्डलै बन्डल मायाको ठेली भित्र
कतै एक पन्ना पहाडे कागजमा
बाँसको कप्टेरोले लेखिएको
'म'ऐलानी जग्गाको भरपाई हुँदो हुँ !
एक पुरानू खेस्रा, मेटिन लागेका
रैकरी अक्षरहरुको अस्तित्व......'म'
An ancient ego.

अब ! विस्तारै आधुनिक डिजिटल
खबटाभित्र प्रवेश गरि
जिवनका खुसीहरु सर्च गर्दैछु
र भन्छु तिमी पनि त्यसै गर l
कि गिदी भित्रका बेकामे कुकिजहरु
सबै डिलिट गर्देऊ !
सेभ गर जिन्दगीका नयाँ फाईलहरु.....
गुगल लाईफ सर्चमा
खोज र भेट !
self fun world.

पूर्वीया र पश्चिमा आधुनिक
प्रेमिल पाण्डुलिपीको
अन्तिम पूर्ण हिज्जे छनौटबाट
निकाला भएर
केवल सम्पदाको उपमा
मन माफीक मान्यताबाट
बहिस्कृत बनछोरा
समाजको देखाकृत सन्तान झैं
मनको छेउ कटुवा जग्गामा बस्नु हुदैन l
संग्रहलयमा टांगिएको तत्कालिन
जंगबहादुरको तस्वीर झैं......
Develop broad mind.

यो भूगोलको लागि
सगोल प्रेमको खाँचो
वांङ्मय फाँटका रैतानी
म/तिमी/ "हामी" = सहअस्तित्व
सहअस्तित्व बराबर एक मुट्ठी माटोको गीत
मनका बाईसे-चौबिसे भावराज्यहरु
वैचारिक एकिकरण हुनुपर्छ - ले
अनुरत अनुबन्धित हुनुछ/हुनै पर्छ l
Moral majority.

~ मुक्तक ~

पर्ख मात्रै भन्छौ तिमी कैले पुग्ने माथि
माथि जाने डिलैनेर खस्यौ तल साथी
अझै पनि ओरालीले तानी राखेकै छ
आफ्नै साथी यहाँ सबै हुँदा आत्मघाती

~ बेवारिसे भ्रुणको काव्यिक च्याँ-च्याँ ~

गुन्द्रुक जीवनको
किनिमा दिमाग
उत्तरआधुनिकताको
तावामा भुटिएर
अझै पनि
परिस्थितिकै फ्राई म:म:

वि/चिन्तनको विरुपक
अहमताले रापिएको चिकनरोष्ट
सभ्यताको नाममा
कक्टेल विचारहरु
लोकल ठर्रा र ह्विस्की
रंगीला रम
दर्शनको रेड लेवेल,ब्य्लाक लेवेल
विमर्शमा ह्वास-ह्वास गनाई रहेछ।


सह अस्तित्वको
भुंग्रोमा पोलिनु पर्ने 'म'
असनको गल्लीमा
बेसनमा चोबलेको
खसीको फोक्सो जस्तो
वर्गकार चोक्टा
गेश्चरिजममै चोबलिएर
भुटिएर 'हामी'
किन भुटिदैनौ
किन त्यस्तै स्वादिलो हुँदैनौ ?

सोचका प्लेटहरु
केरला-कर्णटकका
इड्लि र डोसा जस्तो
आकार र स्वाद
फट्फटाई रहने
हाम्रो जिब्रोहरु छेडिन
अब बिस्केट जात्रामा सामेल हुनू!

भोटे:मा जिवन-कपुरको बोट मुनि
एकल वितृष्णाका
पिरो छोईला-कचिलाले
विनिर्माणवादमा
गानो-गोला मात्रै बल्झाउँछ।
तेसो र अलिकति
आफ्नै गिदी निकाल्नू-भुट्नू
र बनाउनू पराले टौवा मुनि

आयामिक तावामा डेरिडा फ्राई।

मूल शून्य र मूल्यहीन
उखुको खोस्टा बाट बनेको
अरुण खोलाको दुधिया रमले
एक्छिनको कव्य रमरम मात्रै !
यो तिम्रो-मेरो="हाम्रो"समाजको
पुरातन हड्डी गालेर
नरम बनाउनू पो त मात्नू !
निख्लो कोदोको छानुव=मनको फेवामा
छायाँ देख्नू - दर्शनको माछापुछ्रे
छाम्नू - छातीभरि सहअस्तित्वको अन्नपूर्ण !!!

हाईकू

संखुवा शिर
सभाको तीरैतीर
गाउँको याद-
बग्छ आँशुको भल
गालाको भीरैभीर

~ मुक्तक ~

के मागुँ हेर्न चाँदनी,सापटी जूनको त्यो
बन्दकी राखेँ छातीमा,मुहार उनको त्यो
परदेशको निस्वाश,घरदेशको धड्कन
झंकार सुन्छु बारम्बार,मायालु धुनको त्यो

गेडी

सपनीमा हुँदा नि,आफ्नै गाउँ देख्छु म
बिपनीमा उठेर, उन्कै गीत लेख्छु म
देश सम्झेर,
पानी जस्तै आँशु गो'खेर
........................
छोडी आएँ जन्म घर् आकाश त्यो नाघेर
छिया छिया मुटु भो, आमालाई सम्झेर
भा'छु, अधुरो
मेरो लागि दिनै मधुरो

गजल

घर-चुलो एकै भन्थ्यौ,तर बेग्लै परेको छु l
छुट्टा-भिन्न पारे पनि,अझै तेतै सरेको छु l

सोचेको'थें मेरो लागि,तिमी जून उज्यालो हौ
अध्याँरोमा राती आफ्नै,आँखा बाट झरेको छु l

कैले कहीँ भन्ने गर्छौ,मेरो आत्म तिम्रो साथी
सधैं भरि भावनाको, भेल एक्लै तरेको छु l

नमागेरै बास दियौ, आशा दियौ प्यास मार्ने
भोकाउँदा आज मन्को, झोली आफै भरेको छु l

सौभाग्यले जुराएको, मन ढुंगै भए पनि
झुकाउँदै शिर मैले, पाउ पूजा गरेको छु l


मनु लोहोरुङ
शितलपाटी-६, संखुवासभा

मनको दह धमिलिंदा....

आङमाथि चर्को घाम, छातीभित्र छाँया
मनको दह धमिलियो,सङ्लिएन माया

थाहै नपाई दुईटा मुटु, जले कतिखेर ?
धुँवा सरि मन उड्दा, थाहा भो यतिखेर
आफ्नै जीवन जलाउने, भयो आफ्नै छाँया
मनको दह धमिलियो, सङ्लिएन माया

पराई हो की आफन्त हो,चिन्नै सकिन कि ?
पिर-बेथा पोख्दा मैले, भन्नै जानिन कि ?
सधैं घाम लाग्ने ठाँउमा, परि दियो छाँया
मनको दह धमिलियो,सङ्लिएन माया


०२ भाद्र २०६७
शनिबार

~ परिनिष्ठित मनको खोजी~

अन्धमुष्टि टाँडीमाथि दिग-दिग लाग्दो
सिक्सिको जीवनको भित्रि-पत्रमा
अड़ग मुटु फक्रिन्छ, रातम्य!
मन-चरी उम्केर एकातिर भाग्दा
विचरा ! खुट्टा चिप्लेर
भाँडभैलो घुर्यानमा जाकिन्छ।
सौम्य सभ्यताको खातिर
हिलो पुछेर विस्तारै उकाल्छु मास्तिर।

आलिसान भवनको सिलिंगमुनि लेखिएका
पहारा र छहराको कहानी पढेर
मेरो 'नेपाल' र 'म' नेपाली छाम्छु
देब्रे छाती चसक्क दुख्छ,
फतक्क आत्मा गल्छ!
जीवनको बाँच्ने शैली र सोच्ने मनभित्र
आफुलाई खोज्छु,,धुईधुईति!

आयतनबिहिन एकाकार
काँडाको चाङमाथी चुपचाप
चाकाचुल हल्लिरहेको यो क्षण
समयको चारो 'जीवन'
अगाध चेतको चाल्नीमा केलाउँदै......

पट्त्यार लाग्दो भू-तल
मैन काँडा कुल्चेर
मेरो पाईतालाले नाप्दैछु l
पाखुरी बजाएर बाँच्नेहरुले
सत्यको आवाज उराल्दा
अ/मान्छे स्वभिमान डकार्छ
स्वाभिमान अ/मान्छे डकार्छ
आधुनिक मान्छेहरुको छातीमा
परिनिष्ठित मन खोजिरहेछु।