Saturday, November 21, 2015

कविता -

 - ऐतिहासिक कित्ता माग -

विस्तार गर्दै मेरो नाम
किन उमारीदैछन् ? अदृश्य युद्धहरू
म चाहन्छु बरू,
नाङ्गो आँखाले देखिने युद्ध नै सही
तर घातक प्रेम-पृष्ठ चाहिएको हैन
...
उतिबेलै देखि
पहाडलाई पुजेर, नदीलाई ढोगेर
मान्छेको आयु माग्ने 'मान्छे' म
जंगललाई जल चढाएर
जगतकै सुस्वाथ्यको कामना गर्ने म
शहरबाट गाउँ पसेको राक्षसले
मेरै कोखामा दारा गाड्दा खेरी
त्यो घाउमा वनमाराको झोल
माडेर लाउन किन पाउदिन,,???
....
कसले किन फाँड्दै छ?
हरेक पटक वनमारा बुद्धिमाथि
र हरेक संविधानको विधानले मलाई
छेउकटुवा जग्गा चर्च्याउन बाध्य बनाउदैछ
नेप्टो नाकमाथिको थेप्चो निधारभित्र
काउलोको लिसो बनाएर
कल्ले बाँ'काटे हानी रहेछ  ?
र हरेक पटक म चिप्ली लड्छु - अपूरो संख्यामा
हाम्रो वायुघर,साकेला थान र गुरौमा
कसले भजन गाउन थालेको छ, अचेल
र नाची रहेछन्, अट्टाहास हाँस्दै
साशाकीय नृत्यकारहरू
..
अस्तित्वको राँके मेलामा
फौदारी गर्नु पटक्कै रहर छैन, मलाई
तर यत्ति मात्रै भन्छु -
आबो, उइलेको जस्तो डबकामा छनुवा पिउँदै
सुनी रहदैनन् - कारबारी जेठाहरूले
कागको फुल चोर्ने कोइलीको कथा,
डिट्ठा बा'को प्याउले लोरी
र अधिया बुद्धिको धापले
सुती रहँदैनन् - माङ्धने कान्छाहरू
..
इतिहास साक्षी छ |
संस्कृतिमाथि ठाडो हस्तक्षेप हुँदा नि
सहिष्णुता ओढेर सिरूपाते खुकुरी सुतेको हो
तर निदाएको छ |
जाई लाग्न नजनान्ने सोझोले
अब आई लाग्ने बाङ्गोलाई बाँकी राख्दैन |