Saturday, December 3, 2011

अनन्त यात्राको शुरुवात

म दैव हुँ !
मूर्खहरुको भिडसंग डराउँछु,

लोचन उघारेर
हतार हतार उक्लिन्छु
हाँस्दै हाँस्दै म,
आफ्नै घरको तलामाथि-

किनकि मैले देख्नु छ |
यो पृथ्वीको धरातल
मैले नाप्नु छ, आकाशको आयतन-
साँझ बिहान जीवन खेल्ने आँगन,
तेसो र म चुप चाप उक्लिन्छु |
माथिल्लो तला
सपनाहरुको खकान बोकेर.......

पानको पात नाघेर
सिमारेखा काट्ने घामसंग
म बटुवा-
आकाशको दुरीमा
केही गुनासो गर्दिन |
समयले अन्वेषणको दैलो उघारे पछि
पाईला पाईलामा युग बोल्नेछ |

पानको पातबाट तप्किन थालेका
तप-तप शितहरुको रतिरागले
अनुरागको डाली नभाँचिनु पर्थ्यो !
अब थूरहरु नै बटुलेर
जीवन बाल्छु यतै उतै-
अनिकाल पोलेर खरानी-खरानी
अकाल सपनाहरुको संरक्षण-
सहकाल खोज्ने मूलबाटो कोर्छु |

समय सडकमाथि पाईथागोरस
चेतनाको चक्का गुड्छ |
अनन्त यात्राको शुरुवात-
यो बिशाल धरतीको छेउ कुना
इतिहासका नाङ्गो इतिहास खोज्न !!!




Tuesday, November 29, 2011

~ एक मुक्तक ~


जन्मिनुको अर्थ बुझे,जीवन मोती हो |
मन खोली जगत हेरे,जीवन ज्योति हो|
दुई दिन बाँच्दा रिस दोष किन गर्ने सखी ?
जीवन केवल समयको एकछाक रोटी हो |

हाईकू

सेती नदी

परदेशमा
सेती झैं गढेको छ
देशको माया |


हिउँको टोपी
मेरियान ट्रेन्चमा
खस्दो छ अचेल |

सम्झनुलाई तितामिठा याद भए पुग्छ ........

Shashi Thapa Subba
सम्झनुलाई तितामिठा याद भए पुग्छ /
भूल्न परे फेरि हजूर मुटु सार्है दुख्छ /

अचानोलाई चोटैमात्र खाने बानी हुदो रहेछ.
त्यसैले त खुकुरीलाई सम्झीसम्झी रुदो रहेछ..
चोटै खानु कसैलाई आफ्नो भने पुग्छ/
भूल्न परे फेरी हजूर मुटु साह्रै दुख्छ//

भर पर्नु अरुमाथि मन दुखाउने खेल हुन्छ.
खुशीको त खै के कुरा आँशुको चै भेल हुन्छ..
ढुंगा हुदा दुख्दैन मन, बगर भए पुग्छ/
भुल्न परे फेरि हजूर,मुटु साह्रै दुख्छ//

मनको भित्ता छामी हेरें,घाम छेक्ने कुहिरो भेटे ।
जूनको छाती ताकि हेरें,त्याहा पनि पहिरो देखे।।


रुखो हाँसो कती हाँसु ,खडेरीको बन जस्तो ।
कतै भार कतै भुवा ,बिधुवाको मन जस्तो ।।
आफ्नो मन नापी हेरें,नभेटिने गहिरो भेटे ।
जूनको छाती ताकि हेरें ,त्याहा पनि पहिरो देखे ।।


फूल काडाँ ॠतु रङ्ग ,जिन्दगीको सार हुन्न ।
चोट लाग्दा छाती भरी , पिरतीको हार हुन्न ।।
पाइला मेटी भागी हेरें ,बाटोछेक्ने धुइरो भेटे ।
जूनको छाती ताकि हेरें ,त्याहा पनि पहिरो देखे ।।

मेचीकाली जस्तो रैछ.....


मेची-काली जस्तै रै'छ, मानिसको जिवन पनि
यहाँ सम्म बग्दै आयो, सागरलाई चुम्छु भनि


कैले वल्लो तीर छुँदै, कैले हुँदै पल्लो तीरमा
यो कर्मको रेखा मेट्दै, फाल हान्दै तारे भीरमा
खहरे झैं उर्लिएर, बग्दो रै'छ जीवन पनि
रहरहरु फुकाएर, सागरलाई चुम्छु भनि


ढुंगासंग ठोक्किएर, छल्को हान्दै घरी घरी
दु:ख-पिडा, आँशु सबै, अल्झाएर वारी-पारी
किनार् छोडी माझ-धारमा,बग्दो रै'छ जीवन पनि
लक्ष बोकी पक्कै एकदिन,सागरलाई चुम्छु भनि

~ दुई हाईकू ~

पर्देशी खेत
देखेर लहलह
भएँ सलह




बैंशालु मन
परदेशीए जन
धन्को खोजीमा 

Monday, November 28, 2011

हाँगै भाँची फाल्यौ

हाँगै भाँची फाल्यौ र पो भुईंमै झरी फुलें
छातीमाथि कुल्चिएको हजार चोट भुलें

म माथि शीत-घाम, रमाई डुल्दा पनि
दुख्दो होला तिमीलाई भुईंमा फुल्दा पनि
प्रकृतिको नियमै हो, झरें र नि फुलें
छातीमाथि कुल्चिएको हजार चोट भुलें 


चोटभित्र साहस खोजें , बाँच्ने आर्थ भेट्न
भेटेका ति सबै जिएँ, चोटको खत मेट्न
आँशुलाई शीत सम्झी,खडेरी मै फुलें
एकै थुंगा अझै फुल्न, हजार चोट भुलें

हाईकू

चट्याङ् पर्यो

धरती फाटेर रुयो
दिन हाँस्यो | 

- सेन्र्यू -
मन्त्री जेलमा
नेपालको कानुन
लाटीको गुन्यू

चार हाईकू

१,
अभागी फूल,
भमरा बस्नु अघि
भाँचियो हाँगा !
२,
पूर्णेको जून
खित्का छोडेर हाँस्दा
अध्याँरो भाग्छ |
३,
बैगुनी हावा
उडायो पातहरु
जंगलै नाङ्गो !
४, 
आकाश रुँदा
बादल रिसाउँछ 
धरती हाँस्छे |

आजको कविता मापनका केही विशेष आधारहरु :


- समदर्शी काइँला - 

आजको कविता मापनका केही विशेष आधारहरु १. चिद्वैषम्यवादबाट २. अधिभाषिक संचेतनाबाट ३. फेनोमेनोलोजिकल पद्धतिबाट ४. उत्तरवर्ती संरचनावादी पद्धतिबाट ५. अनेकार्थकताको अन्वेषणबाट ६.वस्तुगतताबाट ७.अङ्ग-सङ्गतीको बन्दोबस्तीबाट ८. भाव तत्व,वुद्धि तत्व,शैली तत्व र कल्पना तत्वको सम्यक् निर्माणबाट ९. रहस्यमय कला, प्रयोग र आयामको सम्प्रेषणमूलक सिद्धान्तबाट १०. रागात्मकताको सापेक्षिक चलखेलबाट ११.मनोद्वेगहरुको व्यबस्थापनबाट १२. विचार र दर्शनको सम्यक् व्याखाले कलात्मक अभिव्यक्तिवादी सिद्धान्तबाट १३. व्यक्तिको मनोविज्ञान र ज्ञानले बनाएको काव्य स्वायत्तताबाट १४. अखण्ड सत्य -सुन्दरको आभा र बोधताबाट १५. लागिमा साध्यताले प्रतिकृतिमूलक सिद्धान्तबाट १६. मनको सौन्दर्य शास्त्रबाट १७. आविष्कार र मौलिकतामा कविको विशेष स्वतन्त्रता(poetic licence)को सदुपयोगबाट १८. वैयक्तिक सिद्धान्त ज्ञापक र ज्ञापितको अस्थिर सम्बन्ध दिगो भएबाट १९. विघटनवादी सिदान्तबाट २०. विचलनको चलनबाट २१.लय- तालको विधान र अनुशासनबाट २२. विधि र प्रविधिको खनतलासीबाट २३. पात्र, विषयवस्तु,मूलरुपीय बिम्ब,काव्यात्मक शब्दरचना र शीर्षक आदिमा उचित संगठन र विन्यासको तालमेलबाट २४. अति बौद्धिक र अति वैज्ञानिक चिन्तनबाट २५. सलग्ग सहज प्रकाश्यबाट २६. निस्सिम गतिशील सर्वदृष्टिकोणबाट २७. रुप र विषयवस्तुको बहुल सम्बन्धबाट २८. 'मौविनिहासा'को दृष्टिगोचरबाट २९.धार्मिक,सामाजिक,साँस्कृतिक,राजनैतिक,ऐतिहासिक, मनोवैज्ञानिक र अरुकोणबाट ३०. व्यक्ति सर्वाेच्चताबाट ३१. अनुभूतिमा बौद्धिक कोमलताले नवीन लेखनको पक्षबाट । -यी सबै उपर्युक्त बाटहरुबाट अबका समालोचकहरुले कविताको मूल्याङ्कन गर्नु पर्दछ अनि मात्र कविताले सम्पूर्ण न्याय पाएर सही मूल्याङ्कन हुन पाउँछ,म भन्छु । तपाईहरु के भन्नुहुन्छ ?

गेडी लेखनका अवधारणा र नियम

- खगेन्द्र पन्धाक लिम्बू

'गेडी'-लेखनको आविस्कार,सिद्धान्त र प्रयोजनको पछिल्लो अवधारणा


                                                                                                                परिभाषा-

गेडी-सानो आकारको दाना; फलहरुभित्रको बिऊ रहने दाना; सम्बाद र साहित्यको(विशेष नेपाली लोक साहित्यको मूलमर्म ) मुख्य तात्विक रस; सानो सुनको गहना l अब जसरी व्याख्या गरे पनि आकारले सानो तर अन्त्यन्त महत्वपूर्ण भन्ने अर्थ हुन जान्छ lयसको संरचना र भाव तत्वले 'गेडी' को पूर्ण अर्थ दिन सक्छ lत्यसैले यो विधाको नाम 'गेडी' नै राख्न उचित मानियो l

परिकल्पना र आविस्कार-

भूगोलका हरेक कुनामा रहेका मानव सम्प्रदाय,समाज, देश र महादेशमा अनेकानेक जीवनका नश्लीय पक्षहरुलाई स्व-संस्कृति, धर्म, भाषा, वातावरण, संस्कार आदिले प्रतक्ष प्रभाव गर्दछ lत्यै प्रभावले मान्छेका हरेक रहनसहन, बोलीचाली, क्रिया-प्रक्रिया, आविस्कार र सिर्जनामा पनि फरकपन आउँदछ lभनौं, जीवनलाई बाँच्ने शैलीमा मौलिकता प्रदान गर्छ lसाहित्यमा पनि यिनै विविधताको नियम लागु हुन्छ lउसो र हामीले अनुसशरण गरेका गजल, तान्का, सेन्र्यू, हाईकू आदि इत्यादी पनि कुनै समुदाय,देश-महादेशका मौलिकताका उदाहरण हुन् lनेपाली साहित्य वांमयमा स्थापित तेस्तो लेखन विधा नहुनाले हामीसंग भएका नाना भाषा-भाषी, लोक संस्कृति, धर्म-संस्कार, रहनसहन र जीवन शैलीलाई विश्वब्यापी रुपमा उठाउन नसकिएको अनुभूतिले कुकुत्याउँदा वैशिष्ठ्य अनुसन्धान गरी नेपालका हरेक क्षेत्रमा प्राप्त लोकलयहरुको संरचना, भावगत काब्यरस र नेपाली साहित्यको स्रोत-साधनको गवेषण-उत्खनन गरी पूर्वीय तथा पश्चिमा सङ्गीत र ध्वनि गणितीय विज्ञानलाई फ्युजन गरि नविन विधा 'गेडी' को आविस्कार गरिएको हो lसांस्कृतिक परिवर्तनले मानव जीवनमा समृद्धिको निमित्त ठूलो भूमिका खेल्ने हुँदा साहित्यिक आयामद्वारा यसको पक्षपोषण गर्न 'गेडी' लेखनको परिकल्पना भयो l यसले एकातिर हिमाल, पहाड, तराई,पूर्व, मध्य, पश्चिम सबै क्षेत्रका जनजीवनका सांस्कृतिक पक्षको समतामुलक टिपोट गर्छ भने अर्को तर्फ सम्पूर्ण नेपाली साहित्यिक वांमयबाट प्रतिनिघित्व गरेर विश्वमाझ नेपाली साहित्य र पहिचानलाई चिनाउने भूमिका खेल्नेछ भन्ने दृढ बिश्वास लिइएकोछ lयसले कविता,गजल, गीत आदि जस्ता विभिन्न विधाहरुलाई सम्मान गर्दै स्वतन्त्र एक अलग्गै विधाको रुपमा गेडीले आफ्नो स्थान सुरक्षीत गर्नेछ l

हरेक सिर्जना, आविस्कार, प्रवर्तन र उत्खनन जीवन र जगतबाट नै हुने हुँदा कुनै पनि नविन कुराको सिर्जनशील जन्मलाई आविस्कार मानिनु पर्छ lप्रवर्तन भनिनु पर्छ l हवाईजहाज उडनशील जीवहरुको आधारशिलाबाट निर्माण भएर आविस्कार भए जस्तो हामीले पनि 'गेडी'लाई आविस्कार भनेर दाबी गरेकाछौं lप्रवर्तन भनेर ठोकुवा गरेकाछौं lहुन सक्छ ठेटपृष्ठभूमि भएका- नभएका संसारका कुनै गीतहरुको ढांचा ठ्याक्क मिल्न पनि सक्छ lतर लेखन र ब्यबस्थित सुत्राधारको स्थापनाको निम्ति जुझारु हाम्रो सिर्जनशील यो प्रतिबद्धताको घोषणाले हामीलाई 'गेडी' हामीले नै प्रवर्तन गरेको हो भन्ने अधिकार छ भन्ने मान्यता राख्छौं l
गेडी विधालाई मैले सामान्य अवधारणा, रचना, सूत्रगत संरचना सहित २०१० को अप्रिल २२ तारिखका दिन फेसबुक मार्फत अन्तराष्ट्रिय रुपमा औपचारिक घोषणा सहित प्रस्तुत गरेकोथिएँ lलगभग बर्ष दिनभित्रमा यो विधामा सन्सारभर छरिएर रहेका नेपाली लेखकहरुले ठूलो चासो देखाएर प्रसस्त सिर्जनाहरु गर्न थाले lगेडीले डिजिटल साइट, ब्लग,गोष्ठी , पत्र-पत्रिकाहरुमा स्थान पाउँदैगए त कहीं अंग्रेजीमा पनि लेखिए lयसलाई वेला-वेला नेपाली ठेट लोकगीतको प्रतिलिपिको दोष, आरोप-प्रत्यारोप पनि लगाइयो lवास्तबमा कुनै पनि ठेट लोकगीतको सरासर नक्कल होइन यो lतर यसको संरचनाले अवश्य विविध लोकगीतहरुको संगोल झल्को दिन्छ,किनभने नेपाली मौलिकता र नश्ल यसको पृष्ठभूमि हो l lकुनै विशेष परिधिमा नबाँधी स्वत्रन्त्र भावमा लेखिनु यो विधाको सम्प्रभुत्ता हो l


संरचना –
यो चतुर्स्पदीय आन्तरिक , मध्यानुप्रासीय तथा अन्यानुप्रासीय गेयात्मक लेखन विधा हो l(आन्तरिक अनुप्रास अनिवार्य छैन l ) प्रथम र दोस्रो पदको अन्त्यानुप्रास तथा तेस्रो र चौथो पदको अन्त्यानुप्रास मिल्नु पर्दछ l गजलको रदीफ जस्तो समस्वरक समशब्द पनि आउन सक्दछ lत्यसलाई 'समष्टि' नामांकरण गरिएकोछ lयसलाई अनिवार्य मानिएको छैन lअवास्थानुरूप प्रय्ग गर्न सकिनेछ lजसले श्रुति मधुर्यतामा विशिष्ठ भूमिका खेल्दछ lरुपक गेडीबाट गेडी लेखनको अवधारणा लिई सुरुवात गरिए पनि थेगोको केवल ३ मात्राको शब्दले मात्र सम्पूर्ण भाषामा न्याय नहोला भनेर गमक (५ स्वर मात्राको थेगो भएको) गेडीको संरचना तयार गरिएको छ l रुपक र गमक दुवै गेडी भावमा स्वतन्त्र भएर लेख्न सकिनेछ l
यसलाई मुख्तया भाषा र संगीतको निस्सिमतालाई ख्याल गरी सूत्रगत रुपमा दुई प्रकारले प्रस्तुत गर्ने पछिल्लो निर्णय गरिएको छ l

१. रुपक गेडी र २. गमक गेडी

१.रुपक गेडी -यसमा प्रयुक्त हुने शब्दहरुको स्वरवर्णको मात्रालाई निम्नानुसार सूत्रबद्ध गरिएको छ -
४/३//४/३\\=१४
४/३//४/३\\=१४
३\\=३
४/५\\=९
जम्मा ४० स्वरमात्रा l
0000/000//0000/000\\=14
0000/000//0000/000\\=14
000\\=3
0000/00000\\=9
Total=40 Syllabus

२. गमक गेडी- यसमा प्रयुक्त हुने शब्दहरुको स्वरवर्णको मात्रालाई निम्नानुसार सूत्रबद्ध गरिएको छ -
४/३//४/३\\=१४
४/३//४/३\\=१४
२/३(५)\\=५
४/५\\ =९
जम्मा ४२ स्वरमात्रा l

0000/000//0000/000\\=14
0000/000//0000/000\\=14
00/000\\=5
0000/00000\\=9
Total=42 Syllabus

नोट-
/=आन्तरिक विश्राम (Internal Pause)
//=अर्ध विश्राम (Half Pause)
\\= पूर्ण वा मूख्य विश्राम ( Main pause )

उच्चारणमा विलय हुने र हलन्त अक्षरका स्वरहरुको मात्रा गणनामा
उल्लेख गरेको छैन lउच्चारणमा भाषागत सम्झौता अनुरुप मात्राको गणना हुनेछ l
जस्तै:-
घरबार - घ(र)बा(र) -2,घरबार(र)-३ वा घरबार -४
स्वर्ग -२, खुट्टा-२,कुण्डली-३ आदि


प्रथम पद- उठान
दोस्रो पद- कथन
तेस्रो पद-थेगो
चौथो पद-बीट

निस्कर्ष -
समय-सदर्भ अनुरुप भाषाको परिवर्तन भएता पनि यसको सांगीतिक गेयधर्मिताको बैज्ञानिक गणितीय सूत्र र श्रुति मधुर्यताका विशिष्ठ पक्षहरु अचल र अपरिवर्तित रहनेछन lविश्वका अनेकानेक भाषामा पनि यसको नाम 'गेडी' नै रहनेछ र यसको संरचना ठोस् तथा अचल रहनेछ lयसलाई लेखन र गायन दुवै विधामा समेटिएकोछ lयसलाई सग्लो र मौलिक नेपाली साहित्यिक विधाको रुपमा राष्ट्रिय औपचारिक मान्यतामा दर्ता गरिनेछ lयसका आवस्यक अवधारणा-पत्र, स्रोत-साधन, काब्य -पुस्तक, श्रब्य क्यासेट आदि क्रमश: निर्माण र उपलब्ध गराईनेछ l


रुपक गेडीहरु

गोविन्द भावुक

तिमी लाग्यौ विदेश शून्य भयो चौतारी
साने ठुले सबैले संझिन्दै'थे दौतारी
कहाँ छौ ?
खुसी हुनु जता जहाँ छौ |

२,

अब कति डुब्ने हो आँशुको यो तालमा 
जनता सबै परेर नेताजीको जालमा 
देखिन्न,
संविधान कैल्यै लेखिन्न
  
३,
बिकासको बाटोमा देश कैले लम्केन
नेपालीको भाग्यमा खुसी किन चम्केन
साह्रो भो,
देश धान्न धेरै गाह्रो भो 

४ 
मासिदैछ सम्पदा संरक्षण भएन
झुटो बोल्ने नेताको बानी कैल्यै गएन 
अति भो,
उधो लाग्ने यिनको मति भो 

५, 
कुर्सी पाए अब त केही गर्लान् भनेको
यस्तै रैछ व्यर्थै भो हामीले दिन गनेको
गरेनन्,
गरिबको घाउमा मलम भरेनन्

६,
के गुनासो पोखौं खै गाउँ घर यस्तै छ 
तिम्ले जस्तो छोड्या;थ्यौ सबै कुरा तेस्तै छ 
ए बाबु,
मन सारै भा'छ बेकाबु

७,
फर्की आऊ अब त देशमा केही गर्नुछ
दुखिरा'छिन् जननी तिम्ले मलम भर्नुछ
गर्दछौं,
हामी तिम्रै भर पर्दछौं
गोविन्द भावुक 
रचना ;  ११ मंसिर २०६८ 

Sunday, November 27, 2011

गेडी


वीरताको इतिहास्,बोक्ने हाम्रो नेपाल
मान्छे बिचै उष्णता,पग्ली सुक्यो हिमाल
सेतो चिमल
मैलो भयो मन्को रुमाल




फूल सम्झी जीवन,फुल्नै पर्छ काँडामा
घाम्को झुल्को भएर,झुल्किनुछ डाँडामा
साथी अब त,
हुनै पर्छ हाम्रो एकता


गेडीहरु

यो शहर छोडेर, फर्किदैछु गाँवैमा
अभावको पिडा नि, पोख्छु आफ्नै ठाँवैमा
जान्छु फर्केर 
पुरै वैंश एतै गो खेर





नेपालको नदीमा भारतको हैकम
हाम्रै पानी खोसेर, छैनौ हामी के कम
भन्छ मोराले
मुख खोला देश्का छोराले   

~ मुक्तक ~


वारी छोडी फड्को मार्दै पारी खोली तरे पछि
दाउ छोपी मन रित्याई मनकै झोली भरे पछि
देशको देउता मान्ने तिमी,गाउँको भूत परें म त
नजिक बस्ने आधार के नै?तिम्रै मुटु सरे पछि



अझै के के बाँकी छ त?मलाई दोष दिन प्रिय!
मर्यो भन्ने सम्झेर कि घट्यो जोश किन प्रिय!
एकै घुट्को सास जान तिम्रै दया चाहियो,
स्वागत गर्छु आउ आजै मेरो होस लिन प्रिय!

~ दुई मुक्तक ~

शिखर पुग्न फेदीबाट भीर चढ्न थालेकोछु
आफैसँग आँफै अब युद्ध लड्न थालेकोछु
बर्षौं सम्म नियतिले फेदै लगाई काट्यो
त्यसैले इन्ची इन्ची उँभो बढ्न थालेको छु




पहिले पहिले भन्थ्यो सबले फूलको थुंगा जस्तो
आफैलाई हेर्दै गएँ, देखें आफै गलेको डुंगा जस्तो
मनका देउता नचिनेर उखेलेर फालेछु कठै !
त्यसैले अचेल लाग्छ मन्दिरनेरै ढलेको ढुंगा जस्तो

एकताको अविरल ईन्द्रवती

एक अध्याँरो वस्तीका
असंख्या बासिन्दाहरु हो,
मै जस्तो थुप्रै प्रतिनिधी हो,
दीनहरुको भोकको निमित्त
रातहरुसंग उज्यालो माग्नू !
मान्छे हुनुको कर्तव्य-
जिम्मेवारी=समातामूल चेत
सम्भावको अमूर्त चिन्तन-
नरक कुण्डबाट मुक्ति मार्ग खोज्न
यो रक्तरंजित धर्तीको छातीमा
मृत्युको पहाड टेकेरै उँभो उक्लिनू!




तुवाँलोले छोपिएको आकाशलाई
स्वतन्त्र मन र सहगामी विचार-
सहयोगी हातहरुले फट्याउनू!
विवश अस्थीहरुको बगुन्द्र हाट-
क्षोभ र लाल्ची चटकेहरुको सर्कस-
लाटोकोसेरोको आँखाले यो मैदानमा
आजै देखि निगरानी शुरु गर्नू !




रुवाबासी र प्रवासी जीवनहरु हो,
बेथितिका अभासी कथाहरुको लोरीमा
पृथ्वी निस्सासीन्जेल निदायौं हामी,


यत्र तत्र सर्वत्र बज्रिएर...........
यही पृथ्वीको गोलार्धमा
अब एक सुन्दर चिहान बनाउन
अर्को सकल्लो बिहान ब्युँझिनु पर्छ।


रगत र आँशुले अवरुद्ध गलाहरु हो,
निर्दोष भोकहरुको चित्कारहरु हो,
ध्वंशले उजाडिएका वस्तीहरु हो,
पसिनाका लाखौँ नहरहरु हो,


आस्थाको अन्तिम विन्दु भेट्न


लम्किनू, तह तहको पहाड नाघेर....
अ/मान्छेहरुको भीड बिचै देखि
अनेकतामा एकता डोलिएर
अविरल इन्द्रावती उकालो बग्नू !

सम्झनाको शीत खस्दा..............

सम्झनाको शीत खस्दा, थापें मैले हात भरी।
तिम्रै छाँया देखें त्यहाँ, जून फुल्दा रात भरी।

कल्पनाको वस्ती भित्र, तिम्रो प्यास मेट्दा खेरी
स्वर्ग जस्तै थियो धर्ती, सपनीमा भेट्दा खेरी
पोखिएर बिपनीमा, खुशी झर्यो हात भरी
टुक्रा टुक्रा टिपी हेरें, जून फुल्दा रात भरी।

आकशको तारासंग, तिम्रो बारे सोधी हेरें,
बादलको घुम्टो भित्र, तिमीलाई खोजी हेरें।
आफै कोरें तिम्रो बिम्ब, पिपलको पात भरी,
त्यहिँ भेटें तिमीलाई, जून फुल्दा रात भरी।

सम्झनाको शीत खस्दा थापें मैले हात भरी ।
तिम्रै छाँया देखें त्यहाँ, जून फुल्दा रात भरी ।

ओभाएनन् आँखाहरु........

ओभाएनन् आँखाहरु,हजार कल्पनाले
पग्लिएर पोखी गएँ,घरको सम्झनाले
........
चाडबाड लाग्यो भन्छन्,सबै साथीभाइ
कहाँ रम्न पाउनु छ र ?यो जिन्दगीलाई
सिमा नाघी पर्देश आएँ, केको तिर्सनाले
पग्लिएर पोखी गएँ,घरको सम्झनाले
.........
फुल्यो होला सयपत्री बारी-डिलै भरि
बाटो हेर्दै होलिन्,आमा आँखा तरी-तरी
कस्तो रहर बोकें आमा,के को तिर्सनाले
पग्लिएर पोखी गएँ, घरको सम्झनाले

~ प्रेमिलो सम्बोधन ~

प्रिय अनुराग !
अदृश्यबोध यो धरातलमा
शून्य की अर्धचेतमा रुमलिंदा
संसार चिन्ने तिम्रो आँखा दियौ।
त्यसैले
अचेल मैले संसार देख्दैछु।
समताको इन्द्रेणी देख्दैछु।
हो,तिम्रै मायाको सुगन्धले
यो राज्य भरि समाबेशी-
फूलहरुको कथा लेख्दैछु।
जन्म र मृत्‍यु क्षणिक पलक
"हाम्रो" यो पहारा जीवन
गग्रेनी छिचोल्दा खसेका
भावनाका खण्डहरमा पनि
समताको बैंशालु गुराँस फुल्नु पर्छ।
भन्दैछु अचेल म !


प्रिय अनुराग!
तिम्रो मेरो = हाम्रो
प्रेमिलो अनुकम्पाले
हो,अब गुलाफका काँडाहरुमा पनि
माया जाग्नु पर्छ।
किनकी संसार रंगिन छ।
यो जगत एउटा बगैँचा हो,
मुटुका पहाडहरुमा गुलाफ रोप्नू !
लोचन उघारेर छातीका मैदान हेर्नू!


अब उहीले उहीले जस्तो
सपनाहरुको हत्या नहोस्।
नटेकोस विपनाले
जीवनको ज्योतिलाई-
मान्छे=ढुंगा होईन
ढुंगालाई पनि मान्छे मानेर
खोज्नु छ आस्थाका अस्थीहरु
की कयौँ आत्महरु
अकालमै ढुंगामुनि परेका छन्।


प्रिय अनुराग !
किनारमा बसेर तिमी
सिम्माको मायाको सागरमा 
चुर्ल्लुम्म डुबेको बेला
यो मरुभूमि माथि म
आफ्नै कोशी र कर्नाली बगिरहेछु। 
आफ्नै माटोमा जीवनको अर्थ खोज्न म,
मेरो पारूहांङ् पुकारी रहेकोछु |