Saturday, December 24, 2011

मुक्तक

अल्पविराम भन्दा पनि पूर्णविराम धेरै भयो
कामको खेती छोडी यहाँ आराम धेरै भयो
इमान-धर्म बेची, खाई गेरु वस्त्र धर्नेहरु 
राम जप्ने यो अयोध्यामा हराम धेरै भयो 

~ रुवाई ~


दुखेर मुटु, कहाँ रुएँको हुँ र  ?
सरणमा पाउ,कहाँ छोएँको हुँ र ?
मिलनमा थोरै दाग लागेर केवल 
मनको फेरो पो मैले धोएको हुँ र !

Tuesday, December 20, 2011

कविता - मूर्त वस्तुभित्रको अमूर्ताकार

म सादा कागजको रिम
लेख ! तिम्रो सिद्धान्त...
चुपचाप सहि दिन्छु ।
पहाडले आकाश हेरे झैं,
आकाशले पहाड नियाँले झैं-


म त्यही अक्षरसहरुमा
तिम्रो/जीवनको रस निचोर्छु
बौद्धिक छलाङ,,,,,
मेरो निख्लम मनको
स्वऐन्द्रिक सम्भोगको भोगले
आयामलाई गर्भवती बनाएर
जन्माउँछु, एउटा तेन्जिंङ नोर्गेको साहास !


मनको झ्याउँकिरी बास्दैछ,,,,,
किरीकिरीकिरीकिरीकिरी
र भन्छ-
सिसीफसको अभिसाप जीवनलाई
अचेतनको साँपले
अब डस्न नदेऊ !




म चिद्वैषम्यताको ज्यानले
एक खेलक बनेर
अनेक शब्दहरुमा खेल्छु
र मनोवेगले इच्छाको
बेली-चम्पा फुलाउँछु
यत्र-तत्र, तत्र-यत्र = सर्वत्र !


तिमीले देखेको गोबर 'म'
स्निग्ध ताराहरु धर्तीमा
बर,बर खसेको क्षण
शितसंग साईनो गाँसेर
लिम्ची फूलको अस्तित्व बचाउँछु ।
कि
जहाँ सबै जीवन र जगत-
रोमियो जुलियट भएर बाँचुन्
म भित्रै.......................


तिमीले देखे/सोचेको ढुंगा 'म'
म ढुंगा कहलाउन मन्जुर छु ।
मूर्त रुपको गहिराईमा अमूर्तता-
जस्को आँखाले जसरी हेरे पनि हुन्छ - ले
म तिम्रो दृष्टि-स्वतन्त्रमा बाँच्छु/बाँच्नेछु।


कि एक मूर्तिकारले मूर्ति बनाओस
जहाँ उसका जीवनका खुसीहरु
मै भित्र खोपीयून-
एक अवोधले देउता मानोस्
जहाँ उसका जम्मै आस्थाहरु भेटुन्-


जीवनको लक्ष = आफ्नो अस्तित्वको खलो
कि ढुंगा कुँदेर बेघरबार सबैले
एक-एक घर बनाऊन्
कि नाङ्गो आस्थाका धरोहरलाई
विषक्त काँचुली फालेर
यो धर्तीको नयाँ आवरण !




तांका

हिउँदे दिन
परदेशको रात
मन उफ्रेर-
गर्छ वाद प्रतिवाद
थप्छ छातीमा घात

हरेलो डाँडा
जिन्दगी काँडै काँडा
फाँडेर सबै
घाम छुनलाई
पुग्नुछ धेरै टाढा |




~ सेन्र्यु ~


जेल गएर
मर्छु अब म पनि
देशकै लागि |

~ तांका ~ 

आउछौ भने
आऊ ! खेलौं हामी नि
लाठी र मुंग्री
मारे या मरे शहीद-
देशकै लागि त हो |


Monday, December 12, 2011

~ दुई मुक्तक ~


तिखै काँडा रै'छ यहाँ,फूलको थुंगो हुँ भन्नेहरुको
इसारा नै काफी छ यहाँ,लाटो-बुङ्गो हुँ भन्नेहरुको
हो साँच्चै ! आकाश र पाताल भेट्ने गोडा रहेछन्
कहिल्यै हलचल नगर्ने म त ढुंगो हुँ भन्नेहरुको



तेरो-मेरो भन्दै बेमेल हात उठिरहन्छ 
घाम साँच्चै हरायो कि रात उठिरहन्छ
बलौं अब सबै मिली अग्निशिखा भइ 
जब सम्म प्रकाश छोप्ने बात उठिरहन्छ 

Saturday, December 10, 2011

~ मुक्तक ~


मर्न लाग्यो कठै मेरो गुराँसको डाली पनि 
बादलले छेकिर'न्छ,पारी-घामको लाली पनि
आशा गरें ! कुहिरो फाट्ला, न्यानो होला आङ्माथी
पोहोर सालको जस्तै शित खस्यो यसपाली पनि