Bipul Sijapti
१. गजल कसिदाबाट विकसित भएको एक अन्तरराष्ट्र्यि साहित्यिक विधा हो र यसलाई पढ्ने भन्दा पनि समूहमा सुनाईने गरिन्छ ।
२. बाजाहरु २ प्रकारका छन्, ताल बाजा :- ढोलक मादल, तबला, मृदंग इत्यादि र सुर बाजा :- हारमोनियम, सितार बाँसुरी आदि । अरबी मुलुकमा तालबाजा र सुर बाजाको अत्यधिक कमीको कारणले गर्दा पनि अरबी मुलुकमा जन्मिएको गजल सुरुमा गाईदैन थियो र यसको पहिचान र अस्तित्व भनेको नै समूहमा बसेर सुनाउनुमा थियो ।
३. ताल बाजा र सुर बाजाको अभावमा यसलाई प्रभावकारी बनाउनको लागि लय अत्यावश्यक हुन गयो र विभिन्न लयमा भनिन थालियो । कालान्तरमा यही लयलाई सहज बनाउन वहर र छन्दको निर्माण भए जसले लय श्रृजना हुने एक सूत्र दियो ।
४. प्रभावकारिताको लागि र सेरमा प्रयुक्त विशेष शब्दबाट हृदयमा असर उत्पन गर्नको लागि शब्दमा स्वराघात, बलाघात र यति या बिश्राम मिलाएर लयबद्ध रूपमा सुनाइन थालियो ।
५. बहर र छन्दको निर्माण पश्चात् पनि लयका कुरा नउठेका होइनन्, त्यसको समाधानार्थ तरन्नुमको अबधारण अघि ल्याईयो र गजलगोलाई उसले आफैले निर्माण गरेको तरन्नुम (लय) मा गजल भन्ने छुट दिईयो । यस्ता तरन्नुमलाई बहरबद्ध या छन्दबद्ध गर्ने कार्य र सिलसिला अद्यापी हुँदैछ र आदरणीय पोष्टराज सर नेपालमा उदाहरणीय व्यक्ति हुनुहुन्छ ।
६. मुगलकालमा मुसायरा (गजल वाचन कार्यक्रम) बहादुर शाह जफरको पालामा आएर झन मौलाएको थियो । बहादुर शाह जफर आफै पनि गजलका सौकिन र सायर थिए र उनले समय समयमा मुसायर चलाऊदथे । उनको दरबारमा हुने मुसायरा साँझको नमाज पछि सुरु भएर बिहानको आजान (बिहानको नमाज पढने सङकेत, घोषणा) सुने पछि सकिन्थ्यो । यस्ता मुसायरामा सायरले सेरका पहिलो हरफ आफ्नै तरन्नुम (लय) मा या बहरमा चार पाँच पटक दोहर्याऊदा पनि श्रोता उत्सुक भएर सुन्न बस्दथे र तिनीहरूको जिज्ञासा जब मतलाए सानी ले शान्त पार्दथ्यो तब वाह ! वाह ! र सुभान अल्लाह ! सुभान अल्लाह ! भनेर सायरको तारिफ गरेर फेरि अर्को सेर सुन्न तल्लिन हुन्थे । यसरी श्रोतालाई मन्त्रमुग्ध पार्ने काममा लयले नै सघाउँछ ।
७. गजलको सुरुवाती अवस्था देखि गजलसँग टाँसिएर आएको लयलाई आधुनिकताको नाममा हटाईदिएको खण्डमा गजल कुरुप बन्न जान्छ र यसले बिस्तारै आफ्नो पहिचान मास्न जान्छ । केही निश्चित कुराहरुका आधारमा नै गजललाई गजल भन्न सकिन्छ र लय ती मध्ये एक हो ।
८. गजलको आधारभूत तत्वको आधारमा हेर्ने हो भने पनि लय पर्दछ ।
९. लय बिनाका कुनै पनि गजल रचनालाई अन्तरराष्ट्र्यि रूपमा दाँज्दा लज्जित हुनुपर्ने बाहेक अरू केही विकल्प छैन । गजल लेखिने देशहरू भरत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान इरान आदिका गजलहरुमा पनि लयलाई अटुट मानिन्छ । उनीहरूको अगाडी लय बिनाको गजललाई के नेपाली आधुनिक गजल भनेर देखाउन सकिन्छ ?
१०. प्रमुख कुरा भनेको गजलका सेर सुनाउँदा त्यसको गहिरो असर पार्नेको लागि अत्यावश्यक र कारक तत्व लय नै हो । सायरले आफ्नो स्वरलाई त्यही अनुरूप ढालेर लयमा असर पैदा गर्दछन् । एउटा सेर पढदा जति असर हुन्छ त्यसको सयौँ गुना असर सेरको भाव अनुसार आवाजको सहायताले आरोह अवरोह, शब्दमा उचित स्वराघात र बलाघात पार्दै लयमा वाचन गर्दा हुन्छ ।
११. मेरो ब्रम्हले देखेको सत्य के हो भने गजलमा लय आवश्यक छ । गजलको जन्म देखि नै आबद्ध रहँदै आएको लयलाई गजलबाट अलग गर्ने अधिकार हामीलाई छैन ।